तलब भत्ता नपाएको भन्दै नगराईन नगरपालिकामा कर्मचारी आन्दोलित
जनकपुरधाम, ६ मंसिर । चालु आर्थिक बर्षको पहिलो चौमासिक बितिसक्दासमेत नगराईन नगरपालिका कार्यालयले तलबभत्ता नदिएको भन्दै कर्मचारीहरु आन्दोलित भएका छन् ।
नगरपालिकाले साउन १ गते यताको तलबभत्ता नदिएको भन्दै शिक्षकसँगै कर्मचारी, स्वास्थ्यकर्मीहरु गत कात्तिक ८ गतेदेखि आन्दोलनरत छन् ।
विद्यालयमा अध्यापन गराउने समयमा शिक्षकहरू नगरपालिका कार्यालयको मूलद्वारमा धर्ना बस्ने र ४ बजेपछि फर्किने क्रम झण्डै एक महिनादेखि चलिरहेको छ ।
आन्दोलनले नगरपालिकाका १६ वटा सामुदायिक विद्यालयका कम्तिमा ३ हजार विद्यार्थी पठनपाठनबाट बञ्चित भएका छन् ।
नगरपालिका कार्यालयले हालसम्म शिक्षक र नगरपालिकाका कर्मचारीको तलब खुवाउन सकेको छैन ।
आन्तरिक विवादले नगरसभा नहुँदा नगरपालिका अनिर्णयको बन्दी बनेको छ ।