गृहमन्त्री लेखकले भने– चीनबाट फर्किएलगत्तै प्रधानमन्त्री भारत जानुहुन्छ
धनगढी, ६ मंसिर । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्किएलगत्तै भारत भ्रमणमा जाने बताएका छन् ।
आज प्रेस युनियन धनगढीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री लेखकले प्रधानमन्त्रीको चीन भ्रमणको मिति तय भैसकेको र चीन भ्रमण लगत्तै भारत भ्रमण गर्ने बताएका हुन् ।
नयाँ प्रधानमन्त्री नियुक्तलगत्तै विदेश भ्रमणमा जानु परम्परा रहेको भन्दै उनले भारत वा चीन कुन देशको भ्रमणमा अगाडि जाने भन्ने विषय सामान्य भएको टिप्पणी गरे ।
प्रधानमन्त्रीको चीन भ्रमणको विषयमा कांग्रेस–एमाले बीच खटपट भएको भनेर गलत हल्ला चलाइएको उनले दाबी गरे ।
उनले सरकारका मन्त्री फेर्नेबारे दुई दलबीच छलफल नभएको पनि उनले बताए ।
२०८४ सम्म यो गठबन्धन कायम रहने उल्लेख गर्दै उनले अबको १ वर्ष ८ महिनापछि वर्तमान प्रधानमन्त्री परिवर्तन हुने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दाबी समेत गरे ।