ग्रेटर नेपालका अभियान्ता फणिन्द्र नेपाल प्रहरी नियन्त्रणमा
काठमाडौं , ६ मंसिर । नेपाली भूमि फिर्ता हुनुपर्ने माग राखेर अभियान सञ्चालान गर्दै आएका अभियान्ता फणिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ ।
शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा आवश्यकता देखिएपछि नेपाललाई शान्तिनगरबाट नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसर, भद्रकालीका एसपी नवराज अधिकारीले पुष्टि गरे । नेपाललाई तत्काललाई होल्ड मात्र गरिएको उनले बताए ।
अहिले भारतीय स्थल सेना अध्यक्ष उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा छन् । यस्तोमा ग्रेटर नेपालको अभियान चलाइरहेका उनले कालो झण्डा देखाउने तथा विरोध प्रदर्शन गर्न सक्ने सम्भावना रहेको बताउँदै प्रहरीले उनलाई निगरानीमा राखेको थियो ।
भारतबाट हुने हरेकजसो औपचारिक भ्रमणमा नेपालले विरोध गर्ने गरेका छन् । त्यसक्रममा यसअघि पनि पटक–पटक उनी पक्राउ पर्ने गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउनअघि उनलाई प्रहरीले निवासबाहिरबाटै पक्राउ गरेको थियो ।
नेपालले सुगौली सन्धिमार्फत भारतमा गाभिएको ६० हजार बर्ग किलोमिटर नेपाली भूमि फिर्ता हुनुपर्ने माग गर्दै ग्रेटर नेपाल अभियान चलाउँदै आइरहेका छन् ।