बोक्सी लगाएको भन्दै दैलेखमा एक जनाको हत्या

बोक्सी लगाएको भन्दै दैलेखमा एक जनाको हत्या

सुर्खेत, ६ मंसिर । दैलेखमा बोक्सीको आरोपमा एक जनाको हत्या गरिएको छ । 

 जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले दुल्लु नगरपालिका–१३ मालिकाका ५६ वर्षीय कर्णबहादुर कामीको हिजो (बुधवार) राति हत्या गरिएको पुष्टि गरे । 

हत्या आरोपमा कर्णबहादुरकै भाइ नाता पर्ने ४३ वर्षीय भुवनसिंह बिकलाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीका अनुसार, बुधबार राति कर्णबहादुरको घर गएका भुवनसिंहले सुरुमा पानी मागेर खाएका थिए ।

त्यसको केही समयपछि एक्कासी आफूलाई बोक्सी लगाएको बिरामी पारेको भन्दै धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी निरीक्षक सुनारले जानकारी दिए । 

हतियार प्रहारबाट घाइते भएका कर्णबहादुरलाई दुल्लु अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको थियो ।