काठमाडौंमा छविलाल जोशीको बयान जारी
काठमाडौं, ६ मंसिर। काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी अनियमितता प्रकरणमा तानिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको बयान भइरहेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा उनको बयान जारी छ ।
मंगलबार साँझ पोखराबाट काठमाडौं झिकाएर जोशीको हिजो (बुधबार)बाट बयान लिन थालिएको हो ।
भोलि शुक्रबारसम्म जोशीको बयान सकेर फेरि पोखरा पठाउने तयारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमै पक्राउ पूर्जी जारी भएपछि पोखराबाट कुमार रम्तेललाई काठमाडौं ल्याइएका बयान लिएको थियो । शनिबार काठमाडौं ल्याइएका रम्तेललाई बयान सकेर मंगलबार फिर्ता पठाइएको थियो ।
जोशीको पनि बयान सकेर पोखरा फिर्ता गराउने तयारी प्रहरीको छ । परिसर स्रोतका अनुसार, त्यसपछि रास्वपा सभापति लामिछानेलाई बयानका लागि काठमाडौं ल्याइने छ ।