पर्यटनमन्त्रीको निर्देशनपछि नेपाल एयरलाइन्सले घटायो हवाई भाडा
काठमाडौं, ६ मंसिर । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय उडान यात्राको भाडादरमा छुट दिन सुरु गरेको छ । निगमले न्यूनतम २ हजार ५ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म छुट दिन थालेको जनाएको छ ।
भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोर, युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबई, साउदी अरबको दमाम, मलेसियाको क्वालालम्पुर, हङकङ, थाइल्यान्डको बैंकक र जापानको नारिता उडानमा छुट घोषणा गरेको निगमले बिहीबार जारी विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई भाडादर घटाउन विशेष निर्देशन दिएपछि सबै सेक्टरमा भाडादरमा छुट दिन थालिएको निगमको भनाइ छ ।
दिल्ली, मुम्बई र बैंगलोरमा प्रतिटिकट २ हजार ५ सय तथा दोहो, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिताका लागि प्रतिटिकट ५ हजार रुपैयाँसम्म छुट दिइएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
निगमका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १ देखि २२ नोभेम्बर २०२४ सम्म डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिसमा दिल्लीको दुईतर्फी उडानमा ३७ जना क्यान्सर रोगीलाई शतप्रतिशत र ती बिरामीका ३३ कुरुवालाई ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराइएको छ ।