मेडिसिटी अस्पतालको मृत्यु प्रकरण, मृतकका आफन्तले बुझे शव
ललितपुर, ६ मंसिर । भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्यमा समस्या भई निधन भएका ३८ वर्षीय सरोज सुब्बा (लिम्बु)को शव आफन्तले बुझेका छन् ।
शव बुझेर इलाम घर नै लैजान लगिएको मृतक लिम्बुका बहिनी ज्वाईं कुमार राईले जानकारी दिए।
यसअघि लिम्बुका आफन्तले भने चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका थिए ।
प्रत्यारोपण गर्दा संलग्न भएका मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले पनि मृतकका आफन्तले शव बुझेको पुष्टि गरे ।
६ असोजमा प्रत्यारोपण भएका लिम्बुको केही सातामा मिर्गौला जोड्ने नली फुटेपछि चिकित्सकले प्रत्यारोपण गरेको मिर्गौलालाई निकालेका थिए ।
तर, पछि स्वास्थ्य समस्या बढेर संक्रमण पेटभरी फैलिएको थियो । मेडिसिटी अस्पतालमा थप उपचारको क्रममा मंसिर १ मा लिम्बुको निधन भएको थियो ।