क्रेडिट रेटिङको नतिजाले लगानीका लागि थप अनुकूल वातावरण: अर्थमन्त्री
काठमाडौं, ७ मंसिर । उप्रपधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कन्ट्री रेटिङले नेपालका लागि अनुकूल नतिजा ल्याएको दाबी गरेका छन् ।
हिजो (बिहीबार) नेपालले पहिलो पटक गरेको कन्ट्री रेटिङको नतिजा सार्वजनिक भएको थियो । त्यसै सन्दर्भमा आज(शुक्रबार) मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै अर्थमन्त्री पौडेलले नेपाल लगानीका दृष्टिकोणले सुरक्षित रहेको सन्देश दिएको दाबी गरेका हुन् ।
सार्वभौम क्रेडिट रेटिङ सबै नेपालीका लागि खुसीको नतिजा भएको उल्लेख गर्दै उनले नेपालमा लगानी गर्न विश्वभरका लगानीकर्तालाई अनुरोध समेत गरे ।
‘यो गौरवको विषय हो, हामी यो नतिजामाथि उभिएर नेपालको अर्थतन्त्रलाई सवल, शक्तिशाली र लगानीका लागि अझ अनुकूल बनाउन भूमिका खेल्ने छौं ।’उनले भने ।
नेपाल सार्वभौम क्रेडिट रेटिङमा ‘बीबी माइनस’ स्कोर प्राप्त गर्न सफल भएको हो ।