एमाले जग्गा विवाद: न्यायाधीश चुडाल र सुवेदीको इजलासमा पेशी
काठमाडौं, ७ मंसिर । व्यवसायी मिनबहादुर गुरुङले एमालेलाई जग्गा दिएको विषयमा परेको रिटमाथि आज (शुक्रबार) सर्वोच्च अदालतमा छलफल हुँदैछ ।
न्यायाधीशहरु डा. कुमार चुडाल र शारंगा सुवेदीको इजलासमा मुद्दाको पेशी तोकिएको छ ।
यसअघि नै न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले प्रक्रिया अघि नबढाउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । त्यसले निरन्तरता पाउने कि नपाउने भन्ने छलफलका लागि मुद्दाका दुवै पक्षलाई आज उपस्थित हुन भनिएको छ ।
कीर्तिपुर नगरपालिकाको मैत्रीनगरमा १० रोपनी १४ आना जग्गामा दशैंको अष्टमीको दिन अर्थात् असोज २५ गते प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पत्तिले भवन शिलान्यास गरेका थिए ।
भाटभटेनी सुपर स्टोरका सञ्चालक गुरुङले दिएको जग्गाको स्रोत नखुलेको भन्दै गैरकानुनी रूपमा पार्टीले लिन नमिल्ने तर्क ज्ञानबहादुर बस्नेतसहितका रिट निवेदकले गरेका छन् ।
सुरुमा उक्त रिट सर्वोच्चका रजिष्ट्रार भद्रकाली पोखरेलले दरपीठ गरिदिएका थिए । तर, दरपीठविरुद्ध परेको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मुद्दा दर्ता गर्न आदेश दिएको थियो ।