स्वर्णलक्ष्मी सहकारी ठगी: बयान सकेर छविलाई पोखरा पठाइँदै, रविलाई ल्याउने तयारी

स्वर्णलक्ष्मी सहकारी ठगी: बयान सकेर छविलाई पोखरा पठाइँदै, रविलाई ल्याउने तयारी

काठमाडौं, ७ मंसिर । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी हिनामिना प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको छ ।

पोखराबाट मंगलबार साँझ काठमाडौं ल्याइएका जोशीको बुधबार र बिहीबार बयान गराइएको थियो। उनीसँग जिल्ला सरकारी वकिल कार्यालयमा दुई दिन बयान लिइएको थियो । बयान सकिएपछि जोशीलाई आजै पोखरा पठाउने तयारी गरिएको छ । 

पोखरा पठाउनका लागि जोशीलाई प्रहरीले अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ लगेको छ । जोशीलाई पोखरा फिर्ता गरेलगत्तै भोलि शनिबार साँझ नैं रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी छ ।

परिसर स्रोतका अनुसार, रविलाई शनिबार साँझ काठमाडौं ल्याएर आइतबारबाट बयान लिने तयारी छ । 

६४५ बचतकर्ताले जाहेरी दिएपछि यो सहकारी ठगीको प्रहरी वृत्त कालीमाटीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो । अहिले जिल्ला प्रहरी परिसरले कालीमाटीबाट फाइल झिकाएर छानबिन थालेको छ । 

स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अनियमितता भएको प्रहरीको प्रारम्भिक अनुमान छ । जोशी ६ असोज र लामिछाने २ कात्तिकदेखि प्रहरी नियन्त्रणमा छन् ।

उनीहरूमाथि पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारीमा पनि अनुसन्धान जारी छ । यसका लागि चितवनको साहारा चितवन सहकारीमा पनि उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।