बालेन एमालेविरुद्ध परिचालित छन्: शंकर पोखरेल
काठमाडौं, ८ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोख्रेललले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एमालेविरुद्ध परिचालित भएको आरोप लगाएका छन् ।
हिजो (शुक्रबार) दरबारमार्गमा एमालेले आयोजना गरेको जागरणसभामा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख जरिवाना गरेपछि महासचिव पोख्रेलले यस्तो प्रतिक्रिया जनाएका हुन् ।
आयोजकले नै सफा गरिसकेको अवस्थामा पनि जरिवानाको पर्चा पठाउनुले नै मेयर बालेन एमालेविरुद्ध परिचालन भएको बुझ्न सकिने उनले दाबी गरेका छन् ।
‘काठमाडौं महानगरका मेयर वालेन नेकपा९एमाले०का विरुद्ध परिचालित छन् भन्ने कुरा आजको सभापछि सार्वजनिक गरिएको जरिवाना पर्चाबाट बुझ्न सकिन्छ, कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाइ आयोजकका तर्फबाटै भइरहेको थियो । संकलन गरिएको भएको फोहर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको थियो । अनुरोधलाई स्वीकार गरेर सहयोग गर्नुको साटो फोहर गरेको भनेर जरिवानाको प्रचार गरियो मेयरको निर्देशनमा ।’ उनले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
महानगरले जरिवाना पर्चा सार्वजनिक गरेको समयमा स्वयंमसेवकहरु कार्यक्रमस्थलमै फोहर संकलन गरेर गाडीमा राखिरहेको, मञ्च र मञ्चमा प्रयोग गरिएका सामग्री हटाउने काम भइरहेको उनले उल्लेख गरेका छन् । ‘तर पनि मेयरको ध्यान सरसफाइमा नभई जरिवानाको स्टण्टबाजीमा थियो । जुन समय अगावै सार्वजनिक गरियो’, उनले भनेका छन् ।
एमालेको जागरण सभा यस प्रकारका स्टण्टबाजी गर्नेहरुलाई सचेत बनाउनका लागि भएको पनि महासचिव पोख्रेलको दाबी छ ।