मधेस मुख्यमन्त्री कार्यालय अगाडि शहीद परिवारको प्रदर्शन

मधेस मुख्यमन्त्री कार्यालय अगाडि शहीद परिवारको प्रदर्शन

जनकपुर, ८ मङ्सिर । मधेस आन्दोलनका शहिद परिवारका सदस्यहरूले रोजगारीको माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शन गरेका छन् । सो आन्दोलनमा मधेश प्रदेशबाट ५२ जना शहिद भएका थिए ।

सात वर्ष आगाडि मधेश प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले शहिद परिवारका एक/एक जनालाई रोजगार दिने निर्णय गरेपनि हालसम्म कार्यान्वयन नभएको भन्दै शहिद परिवारका सदस्य आन्दोलित भएका हुन् ।

मुख्यमन्त्री कार्यालय अगाडि गरिएको प्रदर्शनमा प्रदेशका आठै जिल्लाका शहिद परिवारका सदस्य सहभागी भएका छन् । उनीहरूले प्रदेश सरकारले आफूहरूको माग पूरा नगरेसम्म घर नफर्किने चेतावनी दिएका छन् । 

शहिद परिवारका सदस्य रामनरेश राय यादवले मुख्यमन्त्री सतिशकुमार सिंहलाई पहिलो मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न पटकपटक भेटेर आग्रह गर्दा पनि बेवास्ता गरेपछि आन्दोलन गर्नुपरेको गुनासो गरे ।

उनका अनुसार बाउन्न शहिद परिवारका एक/एक सदस्यलाई रोजगार दिने सरकारले निर्णय गरे पनि सात वर्ष बितिसक्यो तर कायान्वयन भएको छैन । केही शहिद परिवारलाई मात्र करारको जागिर दिएको छ । तर उनीहरूलाई पनि हटाउन खोजिएको उनले बताए ।

यादवले भने, “सरकारले गरेको निर्णयअनुसार सबै शहिद परिवारका एक÷एक सदस्यलाई स्थायी जागिरको व्यवस्थापन गर्नुपर्ने आफूहरूको माग रहेको छ ।” माग पूरा नगरे आफूहरू पनि सहादत दिने यादवले चेतावनीसमेत दिए ।