धितोपत्र बोर्ड अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता

धितोपत्र बोर्ड अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता

काठमाडौं, ९ मंसिर । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा आवेदन दिएर ‘सर्टलिस्ट’ मा परेका तीन जनाको आज (आइतबार) अन्तर्वार्ता लिइँदैछ । सर्टलिस्टमा  परेका कृष्णबहादुर कार्की, नवराज अधिकारी र चिरञ्जीवी चापागाईंलाई अन्तर्वार्ता  लागि बोलाइएको छ । 

उनीहरूलाई बिहान ८ अन्तर्वार्ता र प्रस्तुतीकरणका निम्ति अध्यक्ष सिफारिस समितिले बोलाएको हो ।  गत असोज १८ गते उनीहरूको अन्तर्वार्ता तय थियो । तर, समितिका संयोजक डा.शिवराज अधिकारी बिरामी परेको भन्दै अन्तर्वार्ता तथा प्रस्तुतीकरण स्थगित गरिएको थियो । 

यसअघि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित अध्यक्ष सिफारिस समितिले परेका १९ आवेदनमध्ये मुक्तिनाथ श्रेष्ठ, सन्तोषनारायण श्रेष्ठ, कृष्णबहादुर कार्की, नवराज अधिकारी र चिरञ्जीवी चापागाईंलाई पहिलो चरणमा छोटोसूची (सर्टलिस्ट) मा छनोट गरेको थियो। तीमध्ये श्रेष्ठद्वय त्यतिबेलै अन्तर्वार्तामा सहभागी भए। तर कार्की, अधिकारी र चापागाईं अन्तर्वार्तामै सहभागी भएनन् । 

गत पुस २१ यता बोर्ड अध्यक्षविहीन छ । अध्यक्ष नभएकै कारण गत पुसयता प्राथमिक निष्कासन (आईपीओ), थप निष्कासन प्रक्रिया (एफपीओ), ऋणपत्र, हकप्रदलगायत धितोपत्रको अनुमति प्रक्रिया रोकिएको छ ।

बोर्डका अनुसार शुक्रबारसम्म ७७ वटा कम्पनीले आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् । यी कम्पनीले ४४ अर्ब ७५ करोड ४६ लाख रुपैयाँ बराबरको ३१ करोड ७८ लाख ९३ हजार तीन सय ५६ कित्ता शेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् । यस बाहेक ऋणपत्र, हकप्रद, एफपीओलगायत धितोपत्र जारी गर्नका लागि परेको आवेदन जोड्दा प्रक्रियामा रहेका कम्पनी संख्या अझैं बढ्ने देखिन्छ ।