फोहोर व्यवस्थापन समितिको बैठकमा गएनन् बालेन
काठमाडौं, ९ मंसिर । फोहोर व्यवस्थापन उच्चस्तरीय समितिको बैठक शहरी विकास मन्त्रालयमा बसिरहेको छ ।
बैठकमा शहरी विकास मन्त्री प्रकाशमान सिंहसहित ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनसहित प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शहरी विकास मन्त्रालयका सचिवहरु छन् ।
यस्तै, धादिङको धुनिबेंसी नगरपालिका प्रमुख र नुवाकोटको ककनी गाउँपालिका अध्यक्ष पनि बैठकमा सहभागी छन् ।
बैठकमा काठमाडौं महानगरपालिका प्रमुख बालेन भने सभागी छैनन् । काठमाडौं महानगरबाट प्रमुख कार्यकारी उपस्थित छन् ।
बैठकमा हालसम्म भएका निर्णयहरुको समीक्षाका साथै बञ्चरेडाँडा ल्याण्डफिल साइटको हालको अवस्था र समाधानका उपायबारे छलफल गर्ने एजेण्डा छ ।
यसैगरी, काठमाडौं उपत्यकाको फोहोरको दीर्घकालीन समस्या समाधानका लागि भावी कार्यदिशाबारे समेत छलफल हुनेछ ।