सिनामंगलमा मृत भेटिएका श्रीमान्–श्रीमती क्यानडाबाट हिजोमात्रै फर्किएका थिए
काठमाडौं, ९ मंसिर । सिनामंगलस्थित एक होटलमा मृतअवस्था फेला परेका युवा–युवती श्रीमान्–श्रीमती रहेको खुलेको छ ।
मृत्यु हुनेहरुमा सुनसरी दुहवीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी छिन् ।
काठमाडौं परिसरका एसपी तथा प्रवक्रा नवराज अधिकारीका अनुसार, उनीहरू सिनामंगलको जन्मभूमि होटलको बरण्डाको रेलिङमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा मृतअवस्थामा भेटिएका हुन् ।
उनीहरू हिजो (शनिबार) मात्रै क्यानडाबाट स्वदेश फर्केको समेत खुलेको छ । सन् २०२२ मा क्यानडा गएका उनीहरू २ वर्षपछि काठमाडौं फर्केका थिए ।
त्यसपछि जन्मभूमि होटलमा बसेका उनीहरू पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएकाले केही पारिवारिक कारण आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
प्रकाश सन्यास आश्रम जाने बाटोस्थित पर्शुराम आचार्यको घर भाडामा लिएर खोटाङका रामजी कटुवालले जन्मभूमि होटल सञ्चालनमा ल्याएका थिए । उनीहरू उक्त होटलमा पौन ७ बजे पुगेका र चौथो तलाको १२० नम्बर कोठा बुकिङ्ग गरी बसेको बताइएको छ ।