धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया सुरु, कार्ययोजना प्रस्तुति सकियो
काठमाडौं, ९ मंसिर । नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदका लागि अन्तर्वार्ता तथा कार्यायोजना प्रस्तुति सकिएको छ ।
आज (आइतबार) दुई उम्मेदवार बोर्डका निवर्तमान कार्यकारी निर्देशक नवराज अधिकारी र नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले आफ्नो कार्ययोजना प्रस्तुत गरेका हुन् । तर, सर्टलिस्टमा परेका अर्का उम्मेदवार बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं भने उपस्थित भएनन् ।
यसअघि दुई उम्मेदवार सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेका थिए । योसँगै अब अध्यक्ष सिफारिस समितिलाई कम्तीमा तीन जनाको नाम सिफारिस गर्नका लागि बाटो खुलेको छ ।
उत्कृष्ट कार्यायोजना तथा अन्तर्वार्ताका आधारमा बोर्ड अध्यक्ष नियुक्तिका लागि कम्तीमा तीन जनाको नाम मन्त्रिपरिषद बैठकमा अब सिफारिस समितिले सिफारिस गर्नेछ । त्यसपछि मन्त्रिपरिषद् बैठकले एक जनालाई नियुक्त गर्नेछ ।
धितोपत्र बोर्ड २०८० पुस २० देखि कार्यकारी अध्यक्षविहीन छ । यसअघि सर्टलिस्टमा परेका दुई जनाले मात्रै अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेपछि सिफारिस समितिले नाम सिफारिस गर्न सकेको थिएन । ऐनअनुसार सर्टलिस्टमा परेका पाँचमध्ये कम्तिमा तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने कानूनी प्रावधान छ ।
नाम सिफारिस हुन नसकेपछि सरकारले नयाँ प्रक्रिया सुरु गर्न समितिका तिनै सदस्य रहनेगरी अर्को सिफारिस समिति गठन गरेको थियो ।
सर्टलिस्टमा परेका एक उम्मेदवार सन्तोषनारायणले नयाँ प्रक्रिया सुरु गर्ने कानुनी व्यवस्था नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि अदालतले नयाँ प्रक्रिया सुरु नगर्न आदेश दिँदै माघ ३० गतेका लागि पेशी तोकेको छ ।
यद्यपि, पहिलेकै प्रक्रियाबाट बोर्ड अध्यक्ष नियुक्तिका लागि बाटो खुला देखिएपछि सरकारले नियुक्ति प्रक्रियालाई अघि बढाएको हो ।