आज पनि राहदानी वितरणको काम ठप्प
काठमाडौं, ९ मंसिर । आज (आइतबार) पनि राहदानी वितरणको काम ठप्प छ । पाँच दिनदेखि सेवाग्राहीले नयाँ राहदानी बनाउन नपाउँदा मर्काका परेका छन् ।
आइतबारदेखि सेवा पुनः सुरु हुने दाबी गरेको राहदानी विभागले आइतबार सूचना जारी गर्दै विभागको मुख्य कार्यालय, जिल्ला स्थित प्रशासन कार्यालयहरू र विदेशस्थित नेपाली नियोगहरूबाट राहदानी सेवा प्रभावित नै रहेको जनाएको छ ।
विभागले सेवाग्राहीलाई परेको मर्काका लागि क्षमायाचना समेत गरेको छ । समस्या समाधानका लागि प्राविधिक टोलीले लगातार काम गरिरहेकाले छिट्टै सेवा सुरु हुने विभागको दाबी छ ।
विभागका अनुुसार, प्रणालीका केही कम्प्युटर सफ्टवेयरमा मालवेयर छिरेको जानकारी पाएपछि प्रणालीमा जोखिम नहोस् भनेर बन्द गरिएको हो।
तथ्यांकको सुरक्षा लगायतका दृष्टिबाट सबै समस्या समाधान भएपछि सेवा सुरु हुने विभागको भनाइ छ ।