महानगरले १ लाख जरिवाना गरेको पत्र एमालेले बुझ्न मानेन

महानगरले १ लाख जरिवाना गरेको पत्र एमालेले बुझ्न मानेन

काठमाडौं, ९ मंसिर । काठमाडौं महानगरपालिकाले तोकेको एक लाख जरिवानाको पत्र बुझ्न सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले अस्वीकार गरेको छ ।

आज (आइतबार) जरिवानापत्र बुझाउन पार्टी कार्यालय पुगेको महानगरको टोलीलाई आफूहरू आयोजक नभएको बताउँदै एमालेले पत्र बुझ्न अस्वीकार गरेको हो ।

दरबारमार्गमा गत शुक्रबार जागरण सभाका क्रममा सडक तथा पेटीमा जथाभावी फोहोर गरेको भन्दै जरिवानाको पत्र पठाएको थियो । सो पत्र लिएर पुगेको टोलीलाई एमालेले पत्र नबुझी फर्काएको हो । 
गत शुक्रबार एमालेका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा दरबारमार्गमा सभा आयोजना गरिएको थियो । 

महानगरपालिकाले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना तोकिएको जनाएको छ । 

एमालेले पत्र बुझ्न नमानेपछि महानगरको टोली कार्यालय परिसरमै बसेको छ । 

आफूहरूले सभा गरेको स्थान आफैं सफा गरिसकेकाले जरिवाना तिर्न नपर्ने एमाले केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले तर्क गरे ।