सिनामंगलको होटलमा मृत्यु प्रकरण: फरेन्सिक विज्ञद्वारा अनुसन्धान सुरु, आफन्त आएपछि शव उठाइने
काठमाडौं, ९ मंसिर । काठमाडौंको सिनामंगलस्थित जन्मभूमि होटलको बरण्डामा मृतअवस्थामा भेटिएका श्रीमान्–श्रीमतीको अनुसन्धान गर्न फरेन्सिक विज्ञसहितको टोली घटनास्थल पुगेको छ ।
अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला, जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेको थियो । त्यसपछि प्रहरीले फरेन्सिक विज्ञसहितको टोली मगाएर अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।
अहिले फरेन्सिकको टोली घटनास्थल पुगेर काम गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक टोली घटनास्थल पुगेर काम सुरु गरेको उनले बताए ।
सुनसरीको दुहबी घर भएका ३४ वर्षीय रमेश र उनकी २९ वर्षीया श्रीमती शर्मिला होटलको बरण्डाको रेलिङमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
‘सेतो रङको कपडाको सलले घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा दुवै जनाको शव भेटिएको छ, अनुसन्धान गरिरहेका छौं’, परिसरका एसपी अधिकारीले भने ।
आफन्त आएपछि मात्रै शव उठाएर पोष्टमार्टमका लागि पठाइने प्रहरीले जनाएको छ । मृतकका एक आफन्त अहिले घटनास्थल पुगेका छन् ।