सेवा पूर्णरुपमा सञ्चालन हुन अझै २ साता लाग्छ: राहदानी विभाग
काठमाडौं, १० मंसिर । राहदानी सेवा पूर्णरुपमा सञ्चालन हुन अझै थप दुई साता लाग्ने भएको छ ।
राहदानी विभागले आज (सोमबार) एक सूचनामार्फत सेवा पूर्णरुपमा सञ्चालनमा ल्याउन एक-दुई साता लाग्ने अनुमान गरिएको जनाएको हो ।
राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही ककप्युटरमा भाइरस प्रवेश गरेको बताउँदै विभागले त्यसलाई फैलिन नदिन सेवा बन्द गर्नुपरेको स्पष्टीकरण दिएको छ ।
राहदानी विभागबाट आंशिक रुपमा भने सेवा सुरु गरिएको विभागले जनाएको छ । एक–दुई दिनभित्रमा नयाँ आवेदन फाराम भर्नका लागि बुकिङ्ग खुला गरिने विभागले जनाएको छ ।
भाइरस देखा परेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी पर्याप्त सतर्कता अपनाइएको र सेवाग्राहीको डाटा सुरक्षित रहेको बताइएको छ ।
राहदानी सेवा बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । आइतबार मात्रै सेवा बन्द भएपछि विभागमा आक्रोशीत सेवाग्राहीले नाराबाजी गरेका थिए ।