प्रधानमन्त्रीभन्दा अघि चीन भ्रमणमा जाँदै परराष्ट्र मन्त्री राणा
काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली भन्दा अगाडि परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन जाने तयारी भएको छ । प्रधानमन्त्रीको चीन भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री राणा चीन जान लागेकी हुन् ।
आफू बुधबार पछि चीन जान लागेको सोमबार प्रधानमन्त्री ओलीले आयोजना गरेको छलफलकामा जानकारी दिइन् । ‘म यो भ्रमणको पूर्व तयारीको लागि दुई दिन पछि जाँदै छु,’ उनले भनिन् ।
स्रोतका अनुसार उनी मंसिर १३ गते बेइजिङ जाने तयारीमा छिन् । उनले १४ गते समकक्षी वाङ यीसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको बताइएको छ ।
परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको चीन भ्रमणको कार्यक्रम तालिका बनाइसकेको छ । प्रस्तावित तालिका अनुसार, प्रधानमन्त्री ओली मंसिर १७ गते चीन भ्रमणमा जानेछन् ।
प्रस्तावित तालिका अनुमोदन गर्न आज साँझ पाँच बजे मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री ओलीले डाँकेका छन् ।