एमालेलाई जग्गा दानविरुद्ध परेको रिट ‘हेर्न नमिल्ने’ मा

एमालेलाई जग्गा दानविरुद्ध परेको रिट ‘हेर्न नमिल्ने’ मा

काठमाडौं, १० मंसिर । व्यवसायी मिनबहादुर गुरुङले नेकपा एमालेलाई जग्गा दान दिएको विषयमा परेको रिट निवेदन सर्वोच्च अदालतले हेर्न नभ्याउनेमा राखेको छ ।

न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासमा सोमबार पेशी तोकिएको थियो । तर, उनीहरूले समय अभावका कारण उक्त पेशी सोमबार हेर्न नभ्याउनेमा राखेका हुन् ।

न्यायाधीशद्वयको इजलासमा ‘न’ नम्बरमा पेशी परेको थियो । उक्त पेशीभन्दा अगाडि अन्य मुद्दाको सुनुवाई भएकाले आज (सोमबार) उक्त पेशी हेर्न नभ्याइएको हो ।

यसअघि ७ मंसिरमा न्यायाधीशहरू डा.कुमार चुडाल र शारंगा सुवेदीको इजलासमा यो मुद्दाको पेशी तोकिएको थियो । तर, उनीहरूले पनि समय अभावका कारण मुद्दा हेर्न भ्याइएको थिएन ।

यो मुद्दामा न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले प्रक्रिया अघि नबढाउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । त्यसले निरन्तरता पाउने कि नपाउने भन्ने छलफलका लागि मुद्दाका दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन आदेश दिएको थियो ।

कीर्तिपुर नगरपालिकाको मैत्रीनगरमा १० रोपनी १४ आना जग्गामा दशैंको अष्टमीको दिन अर्थात् २५ असोजमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पत्तिले भवन शिलान्यास गरेका थिए ।

भाटभटेनी सुपर स्टोरका सञ्चालक गुरुङले दिएको जग्गाको स्रोत नखुलेकाले गैरकानुनी रूपमा पार्टीले लिन नमिल्ने तर्क गर्दै ज्ञानबहादुर बस्नेतसहितका रिट निवेदकले मुद्दा दायर गरेका थिए ।