७१ किलो ७०० ग्राम गाँजासहित २ युवा पक्राउ
काठमाडौं, ११ मंसिर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ तिनताप्केस्थित सडकबाट ७१ किलोग्राम गाँजासहित दुई जना प्रहरी नियन्त्रणमा परेका छन् । राक्सिराङ गाउँपालिका–९ खैराङका २० वर्षीय मिलन घलान र २६ वर्षीय दावा थिङ पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ३०५९ नम्बरको बोलेरोलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यसैबीच, झापाको कमल गाउँपालिका–७ ठुलोबाह्रघरे बस्ने ३८ वर्षीय सन्देश बस्नेत नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार ९ सय ३० क्याप्सुल, स्पासेन ५ हजार २६ क्याप्सुल र डेकोलिक ४ सय २० क्याप्सुल सहित पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट बाह्रघरे र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
गौरीगन्ज गाउँपालिका–१ भन्सार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ नौ सय मिलिग्राम सहित २१ वर्षीय उत्तम राजवंशी, १९ वर्षीय गोविन्द राजवंशी र १८ वर्षीय किशोर पक्राउ परेका छन् ।