दुर्गा प्रसाईंलाई थुनामुक्त गर्ने अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
काठमाडौं, १२ मंसिर । विद्युतीय कसूरको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरिदिएको छ । प्रसाईंलाई गैरकानूनी रुपमा हिरासतमा राखिएको दाबी गर्दै उनका छोरा निराजनले बन्दी प्रत्यक्षीकरणको निवेदन दायर गरेका थिए ।
सर्वोच्चका न्यायाधीशद्वय नित्यान्द पाण्डेय र महेश शर्मा पौडेलको संयुक्त इजलासले आज (बुधबार) उक्त रिट खारेज गरिदिएको हो ।
पाण्डेय र पौडेलको इजलासले रिट खारेज गरी निर्देशनात्मक आदेश दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भनी प्रसाईंले बोलेको विवादास्पद भिडियो सार्वजनिक भएपछि ४ मंसिरमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रसाईंका छोरा निराजनले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर गत ९ मंसिरमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरिएको थियो ।
जिल्ला अदालत, काठमाडौंको अनुमति लिएर प्रहरीले उनलाई थुनामा राखेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ । प्रहरीले साईबर अपराध, सरकारी कागजात किर्ते लगायतका विषयमा उनीमाथि अनुसन्धान गरिरहेको छ ।