उपनिर्वाचन: कीर्तिपुर र काठमाडौँ-१६ मा आयोगले खटायो अनुगमन टोली
काठमाडौं, १२ मंसिर । निर्वाचन आयोगले यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिका र काठमाडौं महानगरपालिका–१६ मा आचारसंहिता अनुगमन टोली परिचालन गरेको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न भन्दै आयोगबाट मंसिर २ गतेदेखि नै आचारसंहिता जारी गरिएको थियो ।
चुनाव प्रचारप्रसारका क्रममा उक्त आचारसंहिता पालना गरेनरगरेको अनुगमनका लागि आयोगले अनुगमन टोली खटाएको हो ।
कीर्तिपुर नगरपालिकामा नेपाल प्रहरीका एसएसपी दीपक रेग्मी, सशस्त्र प्रहरीका एसपी अशोक न्यौपाने, उपसचिव डा. थानेश्वर भुसाल, उपन्यायाधिवक्ता केदारकुमार अधिकारी खटिएका आयोगकी प्रवक्ता सहसचिव नीता पोखरेल अर्यालले बताइन् ।
यस्तै, काठमाडौं–१६ मा सहसचिव नारायणप्रसाद सापकोटा, सशस्त्र प्रहरीका एसएसपी दिगविजय सुवेदी, उपसचिव सीता पुन श्रीष र एसपी सञ्जयसिंह थापालाई अनुगमनका खटाइएको छ ।
उपनिर्वाचन हुने हरेक स्थानीय तहमा प्रचारप्रसारको सूक्ष्म अध्ययन अनुगमन गरिरहेको आयोगले जनाएको छ । आचारसंहिता उल्लंघन गरेमा निर्वाचन आयोग ऐन, २०७३ को व्यवस्था अनुसार उम्मेदवारी रद्द हुने चेतावनी समेत दिएको छ ।