५५ करोडको अनलाइन जुवा खेलाएको आरोपमा युवक पक्राउ
काठमाडौं, १२ मंसिर । ५५ करोड रुपैयाँ बराबरको अनलाइन जुवा खेलाएको आरोपमा एक युवक परेका छन् । प्रहरीले पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ घर भएका ३७ वर्षीय सुनिल राईलाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । बेटिङ एपमार्फत अनलाइन जुवा खेलाएको आरोप उनीमाथि छ । साथै उनले क्रिप्टो करेन्सी ट्रेड गर्ने गरेको समेत प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, ललितपुरबाट पक्राउ परेका राईले ७५ वटा बैंक खाता र १२८ वटा ई–सेवा वालेट प्रयोग गरी ५५ करोड २० लाख ८४ हजार ७१ रुपैयाँ बराबरको अनलाइन जुवा खेलाएका थिए ।
पक्राउ परेका राईविरुद्ध जुवा खेल्न नहुने कसुर, अभौतिक मुद्राको कसुरमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको बताइएको छ ।