कालीगण्डकी करिडोरः लमाएखोलामा पुल पुनःनिर्माण सुरु
पर्वत, १३ मङ्सिर । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वतखण्डमा पर्ने लमाएखोलाले बगाएको मोटरेबल पुल पुनःनिर्माण सुरु गरिएको छ ।
स्लाब ढलानको तयारी भएका बेला बाढीले सबै निर्माण सामग्री बगाएपछि पुल निर्माण रोकिएको थियो ।
कालीगण्डकी करिडोर आयोजना कार्यालयका अनुसार आगामी दुई सय दिनभित्र काम सम्पन्न गर्ने गरी निर्माण व्यवसायीलाई जरिवानासहित काममा लगाइएको बताए ।
बाढीले पुलसँगै निर्माणस्थलमा रहेका सयौँ बोरा सिमेन्ट, बालुवा, रड, फर्मा, पाइप र अन्य सामग्री बगाएको थियो । पुल दुई वर्षमा सम्पन्न गर्नेगरी २०७५ साल पुसदेखि निर्माण सुरु भएको थियो । साठी प्रतिशत काम सम्पन्न भएकामा बाढीले टेवा पर्खालबाहेक सबै संरचनामा क्षति भएको थियो ।
पच्चीस मिटर लामो र ११ मिटर चौडा यो पुलको लागत पाँच करोड ८९ लाख ८९ हजार दुई सय ७७ हो ।