रवि लामिछाने: आज काठमाडौं प्रहरीको हिरासतमै, भोलिदेखि बयान लिइने

रवि लामिछाने: आज काठमाडौं प्रहरीको हिरासतमै, भोलिदेखि बयान लिइने

काठमाडौं, १३ मंसिर । सहकारी ठगी प्रकरणमा काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखिने भएको छ ।

बुद्ध एयरको उडानमार्फत बिहीबार साँझ काठमाडौं ल्याइएका उनलाई भद्रकालीस्थित प्रहरी कार्यालयमा राखिने र भोलि (शुक्रबार) बाट जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बयान हुने जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेविरुद्ध २ मंसिरमा पक्राउ अनुमति जारी भएको थियो । उनीसँगै पक्राउ अनुमति जारी भएका छविलाल जोशीलाई बयान लिएर प्रहरीले पोखरा फिर्ता पठाइसकेको छ ।

प्रहरीले पहिले स्वर्णलक्ष्मी सहकारीमा छापा मारेर केही कागजातहरू बरामद गरेको थियो, जसमा गाडी किन्न भनेर रवि लामिछाने र जिबी राईले दुई पटक गरेर ४६४६ लाख रुपैयाँ लिएको भेटिएको थियो । यसपछि उनी छानबिनको दायरामा तानिएका हुन् ।

पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा प्रहरीले लामिछानेलाई २ कात्तिकमा प्रहरीले वनस्थलीस्थित पार्टी कार्यालयबाट हिरासतमा लिएको  थियो ।

सुरुमा उनीमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानको प्रक्रिया अघि बढाएको थियो भने पछि कास्की प्रहरीले सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान थालेको थियो । उनीमाथि बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा पनि अनुसन्धान भइरहेको छ ।

प्रहरीले यस बीचमा ऋण तिर्न भन्दै लामिछानेले काटेका चेकहरु समेत बरामद गरेको छ भने लामिछाने र उनकी पत्नीको खातामा भएको कम्तिमा ५० करोड रुपैयाँ बराबरको कारोबारबारे पनि जाँच गरिरहेको जनाएको छ ।