मतदान गर्न पाउने नागरिक अधिकारको सदुपयोग गर्नुस्ः उपप्रधानमन्त्री सिंह

मतदान गर्न पाउने नागरिक अधिकारको सदुपयोग गर्नुस्ः उपप्रधानमन्त्री सिंह

काठमाडौँ, १६ मङ्सिर । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री  प्रकाशमान सिंहले काठमाडौँ महानगरपलिका–१६ स्थित युवक मावि मतदान केन्द्रमा मतदान गरेका छन् ।

मतदानपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएकाले यसको सुदृढीकरणका लागि सबै मतदाता  उत्साहपूर्वक मतदानमा सहभागी हुनुपर्ने बताए । 

उपप्रधानमन्त्री सिंहले निर्वाचनका लागि राम्रो व्यवस्थापन गरेको पाएको बताए । उनले बिहानको समयमा चिसो भएकाले आम नागरिकहरु नआएपनि दिउँसो आफ्नो अधिकार प्रयोग गरेर राम्रो वडाध्यक्ष चयन गर्नका लागि मतदान गर्न आउने अपेक्षा गरे ।

उनले मतदान गर्न पाउने नागरिकको अधिकारको सदुपयोग गर्न आह्वान गरे ।

उनले भने, ‘बिहानको समय छ । काठमाडौंको मौसम ठण्डाठण्डा भएको हुनाले अलि घाम लागेपछि यहाँ भीडभाड बढ्ला । निर्वाचनको व्यवस्थापनदेखि सबैकुरा राम्रो छ । बढी भन्दा बढी मतदाताहरुले आफ्नो मताधिकार प्रयोग गरेर एउटा राम्रो वडाध्यक्ष बन्नको लागि मतदान गर्नुहोला । यो तपाईंहरुको अधिकार हो, त्यसको सदुपयोग गर्नुहोला ।’ 

काठमाडौँ–१६ मा नेपाली काँग्रेसले देवेन्द्र पाठक, नेकपा एमालेबाट लक्ष्मीरत्न तुलाधर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रोजिना श्रेष्ठ र एकीकृत समाजवादीबाट (माओवादीको समर्थनमा) मीनबहादुर मानन्धर चुनावी प्रतिष्पर्धामा छन् ।