कर्णालीका ८ स्थानीय तहमा शान्तिपूर्ण रुपमा मतदान जारी

कर्णालीका ८ स्थानीय तहमा शान्तिपूर्ण रुपमा मतदान जारी

सुर्खेत, १६ मंसिर । कर्णाली प्रदेशका स्थानीय तहमा रिक्त ८ जनप्रतिनिधि चुन्नका लागि मतदान भइरहेको छ । उपनिर्वाचन हुने स्थानीय तहमा बिहान ७ बजेदेखि नै शान्तिपूर्ण रूपमा  मतदान जारी छ । 

प्रदेशका विभिन्न पालिकामा एक गाउँपालिका अध्यक्ष, एक नगरपालिका उपप्रमुख, एक उपाध्यक्ष र ५ वडाध्यक्ष पदका लागि उपनिर्वाचन भइरहेको छ । प्रदेशका ८ पदका लागि ४३ जना उम्मेदवारहरू चुनावी दौडमा छन् ।

निर्वाचन आयोगका सहप्रवक्ता दुर्गा चालिसेका अनुसार, कर्णालीका उपनिर्वाचन हुने सबै स्थानमा निर्धारित समयमै मतदान सुरु भएको हो ।

कर्णालीमा दैलेखको महाबु गाउँपालिका अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षका लागि मतदान भइहरेको छ ।

त्यस्तै, दैलेखको दुल्लु नगरपालिका-१३, कालिकोटको तिलागुफा नगरपालिका-४, जाजरकोटको कुसे गाउँपालिका– ७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ र रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-५ मा वडाध्यक्ष पदमा उपनिर्वाचनका लागि मतदान जारी छ ।