शनिबार २७ मंसिर, २०८२

रविको पासपोर्ट दुरुपयोग विरुद्धको मुद्दा फुयाल र निरौलाको इजलासमा

रविको पासपोर्ट दुरुपयोग विरुद्धको मुद्दा फुयाल र निरौलाको इजलासमा

काठमाडौं, १७ मंसीर । राहदानी दुरुपयोगको अनुसन्धानमा रास्वपा सभापति रवि लामिछानेलाई मुद्दा नचलाउने सरकारको निर्णय विरुद्ध परेको रिट निवेदनमाथि आज सुनुवाई हुने भएको छ ।

महान्यायाधिवक्ताको कार्यालय र लामिछाने विरुद्धको निवेदन न्यायाधीशहरु हरि फुयाल र नृपध्वज निरौलाको इजलासमा पेशीमा परेको हो ।

अमेरिकी राहदानी प्रयोग गरिरहेको अवस्थामा लामिछानेले नेपालबाट राहदानी बनाएको र त्यसको प्रयोग गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

प्रहरीले मुद्दा नचल्ने भनी तयार पारेको राय सरकारी वकिल कार्यालयबाट अनुमादित गरिएको थियो । तहगत हुँदै तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले ६ चैत, २०७९ मा मुद्दा नचल्ने निर्णय लिएका थिए ।

सोही निर्णयका विरुद्ध २० चैत, २०७९ मा दायर भएको रिट निवेदनमाथि पटक–पटक पेशी सर्दै आइरहेको छ ।

उक्त निर्णय खारेज गरेर लामिछानेमाथि अनुसन्धान गर्न आदेश हुनुपर्ने माग गर्दै युवराज पौडेलले रिटनिवेदन दर्ता गराएका थिए ।