ग्रामथानको अध्यक्ष, नलगाडको उपप्रमुख र त्रियुगा –१२ को वडाध्यक्षमा माओवादी केन्द्र विजयी
मोरङ, १७ मङ्सिर । मोरङ ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार नमोनारायण माझीले छ हजार नौ सय ६९ मत ल्याएर निर्वाचित भएका छन् ।
आइतबार सम्पन्न उपनिर्वाचनमा उनको निकटतम् प्रतिस्पर्धीमा नेपाली कांग्रेसका बलराम सरदार थारुले पाँच हजार तीन सय ३३ मत ल्याएका सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिए । गत असार ३ गते ग्रामथानका तत्कालीन अध्यक्ष जयप्रकाश गच्छदारको निधनपछि उपनिर्वाचन भएको हो ।
यस्तै, काँक्रेविहार (सुर्खेत) , जाजरकोट नलगाड नगरपालिकामा भएको उपप्रमुख पदमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार देवका लामिछानले चार हजार दुई सय ७२ मत प्राप्त गरेर निर्वाचित भएका छन् ।
उनको निकटतम प्रतिस्धी नेपाली कांग्रेसका उम्मेदवार इन्द्राचन्द सिंहले तीन हजार एक सय ४७ मत प्राप्त गरेका सहायक मतदान अधिकृत धर्मबहादुर बुढाले जानकारी दिए । उनका अनुसार सोह्र हजार चार सय ४९ मतदाता मध्ये १० हजार छ सय छ मत खसेको थियो ।
उदयपुर (गाईघाट), त्रियुगा नगरपालिका–१२ को वडाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार नवीनकुमार बान्तावा राईले नौ सय २३ विजयी भएका छन् ।
आइतबार सम्पन्न स्थानीय तह निर्वाचमा उनको निकटतम प्रतिष्पर्धी नेकपा (एमाले) का लक्ष्मीनारायण चौधरीले छ सय आठ मत प्राप्त गरेका निर्वाचन कार्यलयले जनाएको छ ।