सरकारी वकिल कार्यालयमा रविको बयान जारी, आजै सक्ने तयारी
काठमाडौं, १७ मंसिर । सहकारी अनियमितता प्रकरणमा काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान अन्तिम चरणमा पुगेको छ ।
आज (सोमबार) सक्नेगरी लामिछानेको बयान चलिरहेको जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिए । प्रहरीले शुक्रबारदेखि नै उनको बयान लिइरहेको छ । तर, नसकिएपछि सोमबार पनि सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको हो ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम ठगी प्रकरणमा अनुसन्धान गर्न प्रहरीले लामिछानेविरुद्ध पक्राउ अनुमति लिएको थियो ।
सोहीबमोजिम, लामिछानेलाई १३ मंसिरमा काठमाडौं ल्याइएको थियो । काठमाडौं ल्याएर उनीसँग बयान लिइएको हो ।
स्वर्णलक्ष्मी सहकारीबाट लामिछाने र जिबी राईको नाममा दुई पटक गरेर ४६र४६ लाख रुपैयाँ ऋण गएको अनुसन्धानबाट खुलेको प्रहरी स्रोत बताउँछ ।
लामिछाने चढ्ने गाडी खरिदका लागि यो ऋण लिएको पाइएको थियो । बयानपछि लामिछानेलाई फेरि प्रहरीले पोखरा पठाइनेछ ।