उपनिर्वाचनबारे बाबुराम भट्टराईको टिप्पणी: जनताले नयाँ विकल्प नपाएर पुरानै छान्न बाध्य भए
काठमाडौं, १८ मंसिर । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले उपचुनावमा जनता नयाँ विकल्प नपाएर पुरानै मध्येबाट एउटा दल छान्न बाध्य भएको बताएका छन् ।
स्थानीय तहका विभिन्न ४१ पदका लागि भएको उपनिर्वाचनको परिणामपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईको यस्तो टिप्पणी आएको हो ।
दुई वर्षभित्रै भएको ४१ वटा स्थानीय तहको उपनिर्वाचनमा अधिकांश ठाउँमा पहिले जितेको दलले हारेको र अर्को दलले जितेको देखिएको छ । साथै केही ठाउँलाई छाडेर अधिकांश ठाउँमा तीन पुराना दल नै एकअर्काको विकल्प बनेका छन्’ डा. भट्टराईले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
तीन दल नै एकअर्काको विकल्प जस्तो देखिएता पनि जनता असन्तुष्ट रहेको उनको भनाइ छ । उनी अगाडि लेख्छन्, ‘यसको सोझो अर्थ हो जनता असन्तुष्ट छन्, विकल्प चाहन्छन्, तर नयाँ विकल्प नपाएर पुरानै मध्येबाट एउटालाई छान्न बाध्य छन् ।’
नयाँ र वैकल्पिक शक्तिहरूले यसबाट पाठ सिकेर, आ–आफ्ना कमजोरीहरू सच्याएर अर्कोपटक जनतालई विश्वासिलो र भरपर्दो विकल्प दिन सक्नुपर्नेमा उनको जोड छ । ‘अन्यथा जनता अर्कै विकल्प खोज्न बाध्य हुनेछन् ।’ डा. भट्टराईले लेखेका छन् ।