अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउँदै
वासिङ्टन, डिसी , (अमेरिका) १८ मङ्सिर । अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लुले यसैसाता नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् ।
आजदेखि उनी दक्षिण एसियाली मुलुकहरूको भ्रमणमा जानलागेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । सहायक विदेशमन्त्री डोनाल्ड पहिले श्रीलङ्का, त्यहाँबाट भारत र त्यसपछि नेपालको भ्रमणमा जानेछन् । उनको दक्षिण एसिया भ्रमण नेपालबाट समापन हुनेछ ।
नेपाल भ्रमणका क्रममा उनले शीर्ष नेतृत्वसँग पर्यावरण संरक्षण, महिला सशक्तीकरण र दिगो विकासका साथै नेपाल–अमेरिका सम्बन्धका विविध पक्षबारे युवा नेतासँग छलफल गर्नेछन् ।
पर्यटन तथा अर्थतन्त्रका मेरुदण्ड मानिएका नेपालका सांस्कृतिक सम्पदाको संरक्षणलगायत विषयमा पनि सहायक विदेशमन्त्रीले छलफल गर्ने विदेश मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।