सहकारी ठगी प्रकरण: आज सकिएन रविको बयान, भोलि फेरि लिइने
काठमाडौं, १८ मंसिर । सहकारी अनियमितता प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको बयान लिइएको छ । आज (मंगलवार) बाट सुरु भएको बयान भोलि पनि जारी रहने भएको छ ।
सरकारी वकिलको कार्यालयमा जिल्ला न्यायाधीवक्ता शान्ति प्रसाद लुइँटेलको रोहबरमा लामिछानेको बयान गराइएको हो ।
आज नसकिएपछि भोलि (बुधबार) पनि उनको बयान लिइने जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।
चितवनमा पनि सहकारी ठगीको उजुरी परेपछि लामिछानेलाई मंगलबार बिहान चितवन लगिएको हो । चितवनमा सहारा चितवन सहकारीको रकम ठगीको आरोपमा लामिछानेविरुद्ध गत मंसिर ५ गते पूरक जाहेरी परेको थियो ।
गत २ कात्तिकमा काठमाडौंबाट समातिएका लामिछानेलाई सोही दिन पोखरा लगिएको थियो । त्यसपछि रुपन्देही र काठमाडौंमा बयान गराएर उनलाई मंगलबार चितवन पुर्याइएको हो ।
यसअघि सोही प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी र रामबहादुर खनाललाई पनि चितवन लगेर बयान लिइएको थियो ।