'बिआरआई'बारे अहिले नै बोल्नु हतार हुन्छः वरिष्ठ उपाध्यक्ष पोखरेल

'बिआरआई'बारे अहिले नै बोल्नु हतार हुन्छः वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं, १८ मंसिर । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फलदायी हुने दाबी गरेका छन् । 

चीन भ्रमणको विषयमा बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनालाई लिएर विभिन्न अड्कलबाजी भइरहेको भएपनि त्यो सत्य नरहेको बताएका हुन् ।

भ्रमणका क्रममा विभिन्न परियोजनाबारे औपचारिक छलफलहरु जारी रहेको उल्लेख गर्दै बिआरआई परियोजनाबारे अहिले नै बोल्नु गलत हुने बताए । उनले बीआरआई परियोजनाबारे ज्वाइन्ट स्टेटमेण्ट आएपछि मात्र सबै कुराको जानकारी पाइने बताए।

उनले बिआरआई परियोजना राष्ट्रिय स्वार्थको विषय भएकाले अग्राधिकार दिएर अघि बढ्ने कुरामा नेपाली काँग्रेस र नेकपा एमालेबीच सहमतिको दस्तावेज तयार भएको बताए । उनले  बिआरआईलाई लिएर काँग्रेस नकारात्मक र एमाले सकारात्मक छ भन्ने भ्रम फैल्याइएपनि आफूहरु सहमतिमै अघि बढेको जिकिर गरे ।

उनले भने, ‘खासगरी बिआरआईलाई हेर्ने सन्दर्भमा बाहिर अनेक ढंगले अड्कलबाजीहरु भइरहेका थिए । बिआरआईका सम्बन्धमा कांग्रेस नकारात्मक र एमाले सकारात्मक छ भन्ने ढंगले पनि कुराहरु बाहिर आइरहेका थिए । त्यस्तो होइन हामी राष्ट्रिय स्वार्थको विषयलाई अग्राधिकार दिएर अगाडि बढ्छौं कांग्रेस र एमालेले नेपालको राष्ट्रिय राजनीतिमा नयाँ खालको सहमतिको दृष्टान्त हो स्थापित गरेका छौं । जहाँसम्म भ्रमणको कुरा छ आज समकक्षि चिनियाँ प्रधानमन्त्री र राष्ट्रपतिसँग पनि भेट भइसकेको जानकारी हामीले पाएका छौं । थप विवरण त भोलि जोइन्ट स्टेटमेण्ट आउँला त्यसमा आउनेछन् । हाम्रो पारस्परिक समझदारीमा बनेको तयारीका आधारमा कुराहरु भएका छन् । कुराहरु फलदायी ढंगले भएका छन् ।’

उनले प्रधानमन्त्रीको पहिलो भ्रमण आवश्यकताको आधारमा जुनसुकै मित्रराष्ट्रको हुनसक्ने कुरामा काँग्रेस र एमालेबीच एकमत रहेको उल्लेख गर्दै यसलाई अन्यथा लिन नहुने बताए । उनले प्रधानमन्त्रीको चीन भ्रमण मुलतः राजकीय भ्रमण भएपनि पार्टीगत सम्बन्ध पनि सुमधुर हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘चीन र नेपालबीचको सम्बन्धको विषयलाई तीन वटा आयामबाट हेर्न जरुरी छ । एउटा, राजकीय सम्बन्ध, अर्को कम्युनिष्ट पार्टीहरुबीचको सम्बन्ध र जनस्तरको सम्बन्ध । यो तीन विषयका हिसाबले नेपाल–चीन सम्बन्धलाई बुझ्नुपर्छ जस्तो लाग्छ । यसपटक प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण मुलतः राज्यस्तर राजकीय भ्रमण हो । यसक्रममा राजनीतिक सम्बन्ध पनि हुने नै भयो । एउटा कुरा यो हो । अर्को कुरा, यसपटक प्रधानमन्त्री चीन भ्रमणमा गइरहँदा समाजमा विश्लेषक हौं भन्नेहरुले पहिले कुन देश जानुपथ्र्यो भन्ने हल्ला फैलाए । फलनोले बोलाएन अनि त्यसपछि चीन भ्रमणमा गए भनेर नि भनियो । अहिलेको सत्तासिन दलहरु नेकपा (एमाले) र नेपाली काँग्रेस आवश्यकताको आधारमा हुने भएकाले जुनसुकै देशको भ्रमण पनि पहिलो हुनुपर्दछ भन्ने मान्यतामा छौं । यही देशमा पहिले र त्यसपछि मात्र अन्य देशको भ्रमण भन्ने खालको बुझ्नु हुँदैन भन्ने कुरालाई हामीले स्थापित गरेका छौं । त्यो आवश्यकताले हाम्रा छिमेकी मित्र राष्ट्रहरुमा भ्रमण हुनसक्छ । त्यो स्वभाविक कुरा हो । यसलाई अन्यनथा लिनु हुँदैन ।’

काँग्रेस र एमाले आवश्यकताको आधारमा छिमेकी देशको भ्रमण गर्ने पक्षमा रहेको बताए । प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबिच विभिन्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । जसमा भैँसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षरदेखि नेपाल–चीन व्यापार अभिवृद्धि सम्बन्धी सम्झदारीपत्रमा पनि हस्ताक्षर भएको छ ।

चीनले प्रश्ताव गरेको बीआरआई कार्यान्वयन योजनाको विकल्पमा नेपालले प्रश्तुत गरेको ‘फ्रेमवर्क अफ बेल्ट एण्ड रोड कोअपरेसन’ सम्झौतामा दुवै देशले चासो दिएका छन् । नेपालले प्रश्तुत गरेको बिआरआई सम्बन्धी ‘फ्रेमवर्क अफ बेल्ट एण्ड रोड कोअपरेसन’ सम्झौतामा  सहमति जुटेको छ ।