एनपीएल : विराटनगरलाई लुम्बिनीले दियो १९२ रनको लक्ष्य

एनपीएल : विराटनगरलाई लुम्बिनीले दियो १९२ रनको लक्ष्य

काठमाडौं, १९ मंसिर । लुम्बिनी लायन्सले जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्ससामु जितका लागि १९२ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १९१ ररको योगफल बनाएको हो ।

एनपीएलमा यो उच्च स्कोर अहिले सम्मकै उच्च हो । यसअघि मंगलबार सुदूरपश्चिम रोएल्सले विराटनगरविरुद्ध १८२ रन बनाएको थियो ।

लिगमा आफ्नो पहिलो खेल खेलिरहेको लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन जोडे ।  उनले २९ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे । यस्तै, इंग्लयाण्डका टम मुर्सले १७ बलमा १ चौका र ३ छक्काको मद्दतमा ३० रन बनाए । 

तेस्रो विकेटका लागि रोहित र टमले ६७ रनको साझेदारी गरेका थिए । यो जोडी ब्याटिङ गरिहरँदा २०० स्कोर कट्ने जस्तो देखिएको थियो । तर राजेश पुलामीले साझेदारी ब्रेक गरेपछि विराटनगरले बलिङमा पुनरागमन गरेको थियो । तैपनि विवेक यादवलेकेमियो इनिङ्स खेल्दै ७ बलमा अविजित १९ रन बनाएपछि लुम्बिनीले लिगकै उच्च स्कोर बनाउन सफल भएको हो । 

विवेकले ३ छक्का प्रहार गरे । यसैगरी अर्जुन साउदले १७, आशुतोष घिरैया र साद विन सफरले समान १५ रन जोडे भने सन्दिप जोराले १२ रन बनाए ।अष्ट्रेलियन अलराउण्डर बेन कटिङ ६ रन बनाएर आउट भए । रामोन सिमोण्ड्स २ रनमा अविजित रहे ।

विराटनगरका लागि कप्तान सन्दीप लामिछाने, राजेश पुलामी मगर र इस्मात आलमले समान १/१ विकेट लिए । सन्दीपले जार लिगमा तेस्रो खेलमा आएर पहिलो विकेट लिए । लुम्बिनीमा चार खेलाडी रनआउट भए ।