काठमाडौं आउँदै भुटानी राजा

काठमाडौं आउँदै भुटानी राजा

काठमाडौं, १९ मंसिर । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक यही मंसिर २१ गते काठमाडौं आउने भएका छन् । उनी २१ गते बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने र त्यसैदिन काठमाडौंबाट फर्किने छन् ।  

स्रोतका अनुसार, विहीबारदेखि भारतको औपचारिक भ्रमणमा निस्किने उनी भारत भ्रमण सकेपछि काठमाडौंमा केहीबेर रोकिने तय भएको छ ।

भुटानी राजा केही घण्टा काठमाडौं विमानस्थलमा रोकिने भएपछि काठमाडौंमा आवश्यक सुरक्षा तयारी गरिएको छ । उनको सुरक्षाका लागि नेपाली सेनाले अभ्यास समेत गरेको बताइएको छ ।

‘भुटानका राजाले काठमाडौंमा कसैलाई भेट्छन् कि भेट्दैनन् भन्नेबारेमा खुलेको छैन ।  तर, स्वयम्भू र बौद्धनाथ दर्शन गरेर फर्किनसक्ने सम्भावना रहेको स्रोतले बतायो । 

भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेको भुटानी राजाको भ्रमण तालिका अनुसार वाङचुक ९ः१० बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छन् । सोही दिन ११ः३० बजे उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम छ ।

त्यसपछि भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेट्ने र शुक्रबार बिहान ८ बजे भारतबाट फिर्ता हुने छन् । भारत भ्रमण सकेपछि उनी काठमाडौंमा केहीबेर बिताएर फर्किने भनिएको छ ।