गौतमबुद्ध विमानस्थल : १ महिनामा करिब ५ हजार अन्तर्राष्ट्रिय हवाई यात्रुले सेवा
काठमार्डौ, २० मंसिर । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत एक महिनाको अवधिमा झण्डै ५ हजार जना अन्तर्राष्ट्रिय उडान यात्रुले सेवाको अवसर प्राप्त गरेका छन् ।
३ नोभेम्बर (१८ कात्तिक) देखि ३ डिसेम्बर (१८ मंसिर) सम्म ४ हजार ७ सय ७१ यात्रुले भैरहवा विमानस्थलबाट सेवा लिएका विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । उनका अनुसार, एक महिनामा २ हजार २ सय ३८ यात्रु भैरहवाबाट विदेश उडेका थिए ।
त्यसैगरी, २ हजार ५ सय ३३ यात्रु भने भैरहवा अवतरण गरेको तिवारीले बताए । यस अवधिमा भैरहवालाई ट्रान्जिट बनाएर ५ हजार ४ सय ६७ यात्रु उडेका छन् ।
वायुसेवा कम्पनीहरूले काठमाडौं आउने यात्रुलाई भैरहवा हुँदै ल्याएका कारण ट्रान्जिट संख्या वृद्धि भएको हो । एक महिनामा कूल १ सय ५६ उडान/अवतरण भएका छन् । ७८ उडान र ७८ अवतरण भएको तथ्यांकमा उल्लेख गरिएको छ ।
सो अवधिमा जजिरा एयरवेजले सबैभन्दा धेरै यात्रुलाई सेवा दिएको छ । जजिराले ३ हजार ३४ यात्रु भैरहवाबाट बोकेको छ । यसले १ हजार ७ सय ९२ यात्रु उडाएको छ भने १ हजार २ सय ४२ यात्रुलाई भैरहवा ल्याएको छ ।
त्यस्तै, फ्लाई दुबई दोस्रो स्थानमा छ । यसले १ हजार १ सय १३ यात्रु भैरहवा ल्याएको छ भने १९ जनालाई भैरहवाबाट उडाएको बताइएको छ ।
एक महिनाको अवधिमा कुन कम्पनीले कति यात्रुलाई दिए उडान सेवा ?
जजिरा: ३०३४
फ्लाई दुबई: ११३२
थाई एयर एसिया: ४४७
कतार: ९३
नेपाल एयरलाइन्स: ३९
चार्टर्ड: २६
