मंगलबार ०१ पुस, २०८२

रवि लामिछानेलाई रातारात पोखरा लानु सरकारको निकृष्ट कार्य: रास्वपा

रवि  लामिछानेलाई रातारात पोखरा लानु सरकारको निकृष्ट कार्य: रास्वपा

काठमाडौं, २१ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लाने क्रममा सरकारले निकृष्ट कार्य गरेको आरोप लगाएको छ । 

चितवनमा सहकारीको ठगी प्रकरणमा बयान सकिएपछि लामिछानेलाई बुधबार राति त्यहाँबाट पोखरा लगिएको थियो । सरकारको यस कार्यलाई रास्वपाले आश्चर्यजनक, निकृष्ट, निन्दनीय घटना भएको जनाएको छ । 

सरकारको उक्त कार्यलाई रास्वपाले गैरन्यायिक चाल भएको टिप्पणी समेत गरेको छ । सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको रास्वपाले आरोप पनि लगाएको छ  ।

‘सरकारको यो कर्मले नागरिकको नैसर्गिक मानवअधिकार हनन गरेको छ । यो निर्मम कदमको औचित्य राज्यले पुष्टि गर्नुपर्नेछ, यसतर्फ राष्ट्रिय मानवअधिकार आयोग एवं सम्पूर्ण राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकारकर्मी तथा मानवअधिकारवादी संघ संस्थाहरूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं ।’ कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

सरकारको कार्य संविधानको धारा १८, धारा २२ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा १६७ एवम् यातना र अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार वा सजाय विरुद्धको महासन्धि, १९८४ विपरीत भएको रास्वपाले ठहर गरेको छ ।

‘आज सांसद रवि लामिछानेका माध्यमबाट दुई तिहाइको दम्भमा नेपालमा लोकतान्त्रिक व्यवस्थालाई दलीय कुशासनको पञ्जामा पार्न राज्यसत्ता उद्धत रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।