कृष्णभीरमा ग्यास बुलेट दुर्घटना, बेपत्ता चालक र सहचालक खोज्न गोताखोर परिचालन

कृष्णभीरमा ग्यास बुलेट दुर्घटना, बेपत्ता चालक र सहचालक खोज्न गोताखोर परिचालन

काठमाडौं, २३ मंसिर । धादिङको कृष्णभीरमा आज (आइतबार) बिहान दुर्घटनामा परेको भारतीय ग्यास बुलेटका चालक र सहचालकको खोजी गर्न गोताखोरसहितको सशस्त्र प्रहरी टोली खटिएको छ । 

डीएसपी शैलेन्द्र थापाका अनुसार, सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अश्विनकुमार गुरुङको कमाण्डमा गोताखोरसहित सुरक्षा फौज परिचालन गरिएको हो ।

चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको एनएल-०२ एल-३९०७ नम्बरको भारतीय ग्यास बुलेट पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा दुर्घटनामा पर्दा चालक र सहचालकको अवस्था अज्ञात छ । 

धादिङ प्रहरीका प्रवक्ता मकेन्द्र मिश्रले सडकबाट तल खसेको ग्यास बुलेटको अगाडिको केही भाग भीरमा अड्किएको छ भने पछाडिको भाग त्रिशूली नदीमा डुबेको अवस्थामा रहेको जानकारी दिए ।

ग्यास बुलेट दुर्घटना क्षेत्र वरपरका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन प्रहरीले आग्रह समेत गरेको छ ।