रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
पोखरा, २३ मंसिर । सहकारीको रकम ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
लामिछाने माथि ४ दिन म्याद थप भएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले बताए ।
यद्यपि, सरकारी वकिल कार्यालय कास्कीले भने १३ दिनको म्याद माग गरेको थियो ।
गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सोही दिन कास्की लगिएको थियो । त्यसपछि रुपन्देही र काठमाडौंमा बयान सकेर उनलाई गत मंगलबार चितवन समेत लगेर बयान लिइएको थियो ।
उनीमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो । पछि कास्की प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान गरिरहेको छ ।
लामिछाने माथि पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको साहारा सहकारी लगायतको रकम अनियमिततामा अनुसन्धान भइरहेको छ ।