प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेट
काठमाडौं, २३ मंसिर । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् ।
आजै काठमाडौं आएका लुले अध्यक्ष प्रचण्ड निवास खुलमटार पुगेर भेटघाट गरेका हुन् । अध्यक्ष प्रचण्डले सो भेटवार्ताका क्रममा नेपालको शान्ति प्रक्रिया राष्ट्रिय सहमतिका साथ मौलिकरुपमा सम्पन्न हुन थालेको जानकारी गराउँदै यसमा अन्तर्राष्ट्रिय समुदायको सद्भावका लागि धन्यवाद व्यक्त दिए ।
‘हामीले नेपालमा शान्ति प्रक्रिया बहुमत र अल्पमत वा सत्ता पक्ष र विपक्षीको रुपमा नलिएर राष्ट्रिय सहमतिका साथै टुंग्याउँदै छौं, यो हाम्रा लागि मात्र होइन शान्ति र स्थायित्व चाहने अन्तर्राष्ट्रिय समुदायकै लागि पनि खुशीको कुरा हो, टिआरसी विधेयक पारित भएपछि जसरी अन्तर्राष्ट्रिय समुदायले स्वागत गरेको छ, यसले हामीलाई खुशी बनाएको छ ।’ प्रचण्डले भने ।
अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको तनावप्रति नेपालको गहिरो चासो रहेको बताउँदै प्रचण्डले यसबाट नेपालमा पर्नसक्ने प्रभावप्रति आफूहरु संवेदनशील रहेको बताए ।
नेपाली युवा विपिन जोशी अहिलेसम्म पनि बेपत्ता रहेको घटना नेपालका लागि चिन्ताको विषय रहेको भन्दै उनले हालै उनी जीवितै रहेको इजरायली पक्षबाट जानकारी आउनु सुखद भएको र जतिसक्दो चाँडो जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यान जानुपर्ने उल्लेख गरे ।
अमेरिकी सहायक मन्त्री लुले नेपालको प्रगति आफूहरुका लागि खुशीको विषय हुने बताउँदै सबै प्रकारका सहयोग र सद्भाव बढाउँदै लैजाने बताए ।
नेपालको शान्ति प्रक्रिया राष्ट्रिय सहमतिका साथ निष्कर्षमा पुग्न लागेकोप्रति खुशी व्यक्त गर्दै यो अन्तर्राष्ट्रिय समुदायका लागि सुखद खबर भएको बताए । उनले नेपालको आर्थिक विकासका लागि अमेरिकाले निरन्तर सहयोग गर्दै आएको बताउँदै अमेरिका सरकारले मात्रै नभई अमेरिकी जनताले पनि नेपालको विकासका लागि सहयोग गर्दै आएको बताए ।
उक्त भेटका क्रममा अध्यक्ष प्रचण्डले अमेरिकी सहायक विदेशमन्त्री लुको नेपाल भ्रमण फलदायी हुने विश्वास व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । त्यस्तै, नेपाल र अमेरिकाबीच लामो समयदेखिको सम्बन्ध रहेको भन्दै यस्ता भ्रमण र भेटवार्ताले आपसी सम्बन्धलाई थप बलियो बनाउने विश्वास प्रचण्डले व्यक्त गरेका छन् ।
नेपालको आर्थिक विकासका लागि अमेरिकाले गरिरहेको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै उनले सबैको सहयोग र सद्भावबाट अघि बढ्ने उल्लेख गरे ।
नेपाल आर्थिक समृद्धिको बाटोमा अघि बढ्न खोजिरहेको बताउँदै अध्यक्ष प्रचण्डले यसमा अमेरिकालगायत अन्तर्राष्ट्रिय समुदायको सहयोग र सद्भाव महत्त्वपूर्ण हुने बताए ।
‘हामीले कृषिलाई आधार मानेर उर्जा र पर्यटन विकासलाई जोड दिने नीति लिएका छौं, सबै क्षेत्रमा सूचना प्रविधिलाई लिडिङ रोलमा राखेर मात्रै नेपाललाई समृद्ध बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास रहेको छ । यसका लागि अन्तर्राष्ट्रिय समुदायबाट हुने सहयोग र लगानी महत्त्वपूर्ण हुन्छ ।’ प्रचण्डले भने ।