रवि लामिछानेलक्षित प्रधानमन्त्री ओलीको टिप्पणी- देश चलाउन सहकारी ठगेजस्तो सजिलो हुँदैन

रवि लामिछानेलक्षित प्रधानमन्त्री ओलीको टिप्पणी- देश चलाउन सहकारी ठगेजस्तो सजिलो हुँदैन

काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउन सहज नहुने टिप्पणी गरेका छन् । झापामा बनेको दमक व्यापारिक कप्म्लेक्सको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् । 

उनले देश चलाउन, सिद्धान्त, नीति, संकल्प र अठोट चाहिने जिकिर समेत गरे । ‘कोही भ्रममा नपर्नु भए हुन्छ । देश चलाउन सिद्धान्त चाहिन्छ, नीति चाहिन्छ, संकल्प चाहिन्छ, अठोट चाहिन्छ,’ प्रधानमन्त्री ओलीले भने  ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेतर्फ इंगित गर्दै देश चलाउन सहाकरी ठगेजस्तो सहज नहुने पनि बताए । ‘सहकारी ठगेजस्तो हुँदैन, देश चलाउन । अरुलाई बुरुकबुरुक उफ्रिएर मुख छाडेजस्तो हुँदैन, देश चलाउन,’ प्रधानमन्त्री ओलीले भने । 

सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि रास्वपा सभापति लामिछाने अहिले प्रहरी हिरासतमा रहेका छन् । गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरिएका लामिछानेलाई प्रहरीले विभिन्न जिल्लामा लगेर बयान गराइरहेको छ ।