सिमेन्ट उत्पादकसँग सरकारले माग्यो मूल्यसूची

सिमेन्ट उत्पादकसँग सरकारले माग्यो मूल्यसूची

काठमाडौं, २४ मंसिर । सिमेन्ट उत्पादकसँग सरकारले मूल्यसूची माग गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलका अनुसार, आइतबार निर्माण व्यवसायी र सिमेन्ट उत्पादकसँग गरेको छलफलपछि विभागले मूल्यसूची माग गरेको हो । 

‘मूल्य बढ्नुपर्ने आधारसहित सात दिनभित्र मूल्यसूची बुझाउन निर्देशन दिएका छौं, त्यसका आधारमा हामी निर्णयमा पुग्छौं ।’ महानिर्देशक पौडेलले भने  ।

सिमेन्ट उत्पादक व्यवसायीले सरकारी सिमेन्ट उद्योग उदयपुर सिमेन्ट र हेटौंडा सिमेन्टको तुलनामा निजी उत्पादकले बढाएको सिमेन्टको मूल्य कम भएको जानकारी विभागमा दिएका थिए ।

त्यसै कारणले विभागले मूल्य तुलना गर्न चाहेको उनको भनाइ छ । निर्माण व्यवसायीले भने निर्माणको सिजनमै सिमेन्टको मूल्य प्रतिबोरा २ सय रुपैयाँसम्म बढेको र त्यसमा पनि ‘कार्टेलिङ’ भएको बताउँदै उद्योग मन्त्रालय र विभागमा निवेदन दिएका थिए । त्यसपछिउनीहरूसँग  विभागले छलफल थालेको हो  ।