आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस: देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै, काठमाडौँमा र्याली
काठमाडौं, २४ मंसिर । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
आज ट्रान्सपेरेन्सी इन्टरनेशनलको अगुवाइमा यस दिवसको अवसरमा काठमाडौंमा र्याली निकालिएको छ । र्‍यालीमा नेपाल प्रहरी र ट्राफिक प्रहरी पनि सहभागी भएका थिए ।
संयुक्त राष्ट्रसंघले सन् २००३ डिसेम्बर ९ तारिखमा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको थियो । सन् २०११ मा महासन्धिलाई नेपालले अनुमोदन गरेको थियो ।
राष्ट्रसंघले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर ९ मा भ्रष्टाचार विरुद्धको दिवस मनाउने गरिन्छ ।
नेपालमा भ्रष्टाचारका नयाँनयाँ रुपहरु देखिँदै आएका छन् । सरकारी कार्यालय र सुरक्षा निकायमा बढी भ्रष्टाचार हुने गरेको विभिन्न अध्ययनहरुले देखाएका छन् । भ्रष्टाचारविरुद्ध आवाज बुलन्द पार्ने उद्देश्यले हरेक वर्ष दिवस मनाइए पनि भ्रष्टाचारजन्य कार्यमा न्यूनता भने आउन सकेको छैन ।
कमजोर न्याय प्रणाली, नीतिगत अस्पष्टता एवं तिनको कार्यान्वयनमा देखिएका उल्झनले सुशासन कायम हुन नसकेको ट्रान्सपरेन्सी इन्टरनेसनललगायत संस्थाहरुले औँल्याउँदै आइरहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन, महालेखा परीक्षकको प्रतिवेदनजस्ता सरकारी निकायकै आधिकारिक दस्तावेज र तथ्य–तथ्यांकले पनि मुलुकमा भ्रष्टाचार बढिरहेको पुष्टि गरेको छ ।
भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयासहरू परिणाममुखी बन्न नसक्दा देशमा सुशासनको अवस्था थप चुनौतीपूर्ण बन्दै भईरहेको देखिन्छ ।