आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान गर्न दुर्गा प्रसाईंलाई सीआईबी लगियो
काठमाडौं, २४ मंसिर । नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोको हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा लगिएको छ ।
आपराधिक लाभ (एक्सटर्शन) को कसुरमा अनुसन्धान गर्न प्रसाईंलाई लाजिम्पाटस्थित सोमबार सीआईबीले आफ्नो कार्यालयमा लगेको हो ।
उनलाई अब सीआईबीको महाराजगञ्जस्थित हिरासतमा राखेर अनुसन्धान अघि बढाइने बताइएको छ ।
प्रसाईंलाई सीआईबीले नै ४ मंसिरमा उनको निवासबाट पक्राउ गरेर साइबर ब्यूरोलाई जिम्मा लगाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भनी विवादास्पद अभिव्यक्ति दिएपछि उनी समातिएका थिए ।
साइबर ब्यूरोले विद्युतीय कारोबार ऐनको कसुरमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएपछि प्रसाईंलाई सीआईबी लगिएको हो ।