राजनीति विचौलियाको हातमा छ, सरकारका दलहरू मुखौटा मात्रै हुन्: अध्यक्ष प्रचण्ड
काठमाडौं, २४ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीति अहिले सरकारमा भएका राजनीतिक दलहरूको हातमा नभएको बताएका छन् ।
आज (सोमबार) राष्ट्रिय कर्मचारी महासंघको स्थापना दिवसलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले विचौलिया र दलालहरूको हातमा देशको राजनीति रहेको प्रष्टै देखिएको दाबी गरेका हुन् ।
‘अहिले जो सरकारमा भएका राजनीतिक दलका नेता छन्, तीनको हातमा राजनीति छैन । उनीहरूको राजनीति विचौलिया र दलालहरूको हातमा छ भन्ने प्रष्टै देखिएको छ । उनीहरू त खाली मुखौटा मात्रै हुन्,’ अध्यक्ष प्रचण्डले भने ।
साथै, उनले रातको अँध्यारोमा विचौलियाले आफ्नो घरमा लगेर अहिलेका सरकारमा रहेका दलका नेताहरूलाई उठबस गराएको समेत जिकिर गरे ।
‘विचौलियाहरूले घुमाएर, आ–आफ्नो घरमा रातका अँध्यारामा लगेर नेताहरूलाई उठबस गराएर, हामीले भनेको माने यहाँ राख्छौं, नत्र राख्दैनौं भनेर गरिएका मुखौटाहरूबाहेक केही पनि देखिएन,’ प्रचण्डले भने ।
साथै, उनले माओवादीप्रति जनताको भरोसा बढ्दै गएको बताउँदै फेरि जनताको तागत देखाउनुपर्ने बताए ।
‘अब फेरि जनताको तागत देखाउनुपर्ने भयो भनेर जनताको बीचमा गएर तागत केन्द्रिकृत गर्छु भनेको थिएँ । त्यही अनुसार हामी सबै प्रदेशमा गयौं,’ प्रचण्डले भने ।