पोखराबाट रवि लामिछानेलाई काठमाडौं ल्याइयो, विमानबाट सिमरा लगिने
काठमाडौं, २४ मंसिर । सहकारी रकम अपचलनमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई वीरगञ्ज लैजानका लागि काठमाडौं ल्याइएको छ ।
प्रहरीका अनुसार, पर्साको सानोपाइला सहकारी संस्थाको रकम अनियमितता प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि उनलाई वीरगञ्ज लैजान लागिएको हो ।
पोखराबाट लामिछानेलाई काठमाडौं र काठमाडौंबाट बुद्ध एयरको विमानबाट दिउँसो सिमरा लैजान लागिएको हो । सिमराबाट उनलाई वीरगञ्ज लगिने छ । सोही प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट पर्सा लगिसकिएको छ ।
रविसहित १४ जनाविरुद्ध सानोपाइला सहकारीको रकम हिनामिना प्रकरणमा १९ मंसिरमा पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो ।
यो सहकारीका पूर्वसंञ्चालक तथा संरक्षक जीबी राई हुन् । तत्कालिन वीरगन्ज उपमहानगरपालिकाको ८, १३, १४, १८ र १९ नम्बर वडा कार्यक्षेत्र रहेको सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत राखेका थिए ।
सहकारीले ऐन विपरीत सदस्य समेत नरहेका वीरगन्ज बाहिरका व्यक्तिलाई ऋण दिएर रकम अपचलन गरेको आरोप छ । बचतमध्ये करिब ९२ करोड रुपैयाँ कार्यक्षेत्र बाहिर गएर लगानी गरेर हिनामिना गरेको आरोप छ ।
यो सहकारीबाट जीबी राई सञ्चालक रहेको नेचर हब इन्टरनेशनलाई १ करोड ३७ लाख, नेचर नेष्ट प्रालिलाई १ करोड ८५ लाख र स्प्रीङ वुड रियल स्टेटलाई १ करोड एक लाख कर्जा प्रवाह भएको छ ।
त्यस्तै विशाल तामाङको नाममा ६ करोड ८३ लाख, छविलाल जोशीको नाममा १ करोड ८६ लाख, तिर्थराज लामिछानेको नाममा १ करोड ६ लाख, विमला पौडेलको नाममा २ करोड सात लाख कर्जा प्रवाह गरिएको छ ।
लामिछानेमाथि यसअघि कास्कीको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी लगायतमा भएको रकम अनियमिततामा बयान भइसकेको छ ।
गत कात्तिक २ गते काठमाडौंबाट लामिछाने पक्राउ परेका थिए । सुरुमा लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान अघि बढाइएको थियो भने पछि कास्की प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थालिएको थियो ।